काठमाडौं येँगालस्थित एउटा निजी घरभित्र पारिएको ऐतिहासिक ढुङ्गेधाराको संरक्षणमा स्थानीय युवाहरु जुर्मुराएका छन् । लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर २१ अवस्थित येँगाःहिति ढुङ्गेधाराको सरसफाई गर्दै यसको संरक्षण थालिएको छ ।
Save Nepa Valley, स्थानीय क्लव, नेपाली सेनाको साथै अन्य सामाजिक सँस्थाको संयुक्त प्रयासमा आज ढुङ्गेधाराको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।
ढुङ्गेधारा सरसफाइमा सक्रियतापूर्वक सरिक हुँदै कामपा उपमेयर खड्गीले ऐतिहासिक सम्पदा संरक्षणका लागि महानगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । संरक्षणको अभावमा पुरिँदै गएको ढुङ्गेधारा सरसफाई गरि संरक्षण थालिएको Save Nepa Valley का संयोजक सुरज महर्जनको भनाई रहेको छ ।
घरको निजी कम्पाउन्डभित्र पारि अतिक्रमण गरिएको यस ढुङ्गेधारालाई २०६४ सालमा नेकपा माओबादीले उत्खनन गरी खुल्ला गरिएको हो ।
बौद्ध साथै सनातनी धर्मावलम्वीहरुको साझा तीर्थस्थलका रुपमा रहेको यो ढुङ्गेधारामा लिच्छवीकालीन समयमा गयासद्दीन तुग्लकको आक्रमणमा परि केही मुर्तिहरु क्षतिसमेत भएको अवस्थामा रहेको छ । साथै नरेन्द्रदेवको पालामा हालको बुढानीलकण्ठ मुर्ति यसै स्थानमा रहेको बिषय उल्लिखित दुइवटा सिलालेखमा स्पस्ट देखिन्छ ।
Categorized in समाज