काठमाडौं । टुँडिखेलको सैनिक मञ्चमा सरकारले विशेष समारोहको आयोजना गरी संविधान दिवस मनाएको छ ।
बिहीबार बिहान सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मनाईएको हो ।
समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो भने सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो ।

उक्त अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो ।
यस समारोहको अवसरमा देखाइएका विविध सांस्कृतिक झाँकी, नृत्य एवं प्रदर्शनीको उनीहरुले अवलोकन गरेका थिए ।
संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो ।

संविधान दिवसका अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको थियो ।
संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौंको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदै छ ।





तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय