काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले पूर्व उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी ठहर गरेको छ ।
समितिले लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षसहति प्रतिवेदन तयार गरेको छ ।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी छ ।
प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाहीका लागि सिफारिस पनि गरिएको छ ।
रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको एमडी (प्रबन्ध निर्देशक) र पार्टनर (साझेदार) भएको प्रतिवेनदमा उल्लेख छ ।
बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
जीबी अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीका करिब ५० हजार सर्वसाधारणले बचत गरेको कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको थियो ।
त्यसमध्ये लामिछाने प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको उपलब्ध दस्ताबेजहरूमा देखिएको थियो ।
प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।
सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन । समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन ।
Categorized in सहकारी