काठमाडौं । प्रतिनिधिसभा बैठक अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सभामुख घिमिरेले आइतवार बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठक निष्कर्ष विहिन भएको हो । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका थिए ।
नेकपा एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि सुरु भएको विवादले यतिखेर बैठकमा गतिरोध उत्पन्न भएको छ ।
सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाए लगत्तै माओवादीले फेरि संसद अवरुद्ध गरेको थियो । शनिबार बसेको संसदीय दलको बैठकले माओवादी जनयुद्धको अपमान गरिएको भन्दै अवरोध कायमै राख्ने निर्णय र्गयो ।
संसदको बैठक आइतबार १ बजे बोलाइएको थियो । त्यसअघि भएको छलफलमा सभामुख घिमिरेले भने सभामुखको रुलिङ नमान्नु कति न्यायोचित हुन्छ भन्ने ख्याल गर्न आग्रह गरेका छन ।
Categorized in राष्ट्रिय