काठमाडौँ । काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।
महानगरले विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात ५१.०१ प्रतिशत खर्च भएको जानकारी दिएको छ । सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ ।
महानगरले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।
समीक्षामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो ।
यस आ.व.मा भवन निर्माणतर्फ १ हजार ३२० वटा नक्सा स्वीकृत भए । ६६ वटाको तला थप गर्न नक्सा पास गरियो । ३ हजार ७४५ वटा भवनको निर्माण सम्पन्न प्रमाण पत्र दिइयो । १५५ जना सेवाग्राहीले नक्सा गरेका छन ।
यस आर्थिक बर्षमा बहाल करतर्फ ३ हजार ३१७ जना करदाताको संख्या थप भएको छ । यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाताको संख्या थप भएको छ ।
प्रशासन विभागका प्रमुख नमराज ढकालले यस वर्ष श्रम बैङ्कमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरेको बताए ।
यस वर्ष ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गरियो । १० दशमलव ३१ किलोमिटर सडक ढलान, १२ दशमलव २५ किलोमिटर ढल राख्ने, ३२।४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्ग मिटर ढुङ्गा छाप्ने, ३ दशमलव १८ किलोमिटर रिटेनिङ् वाल लगाउने काम भयो । सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न भए । ९ वटा पार्क निर्माण भए । यस वर्षमा चालु र क्रमागत गरी ८ अर्व ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना थिए ।
खरिद कार्यका लागि ६२५ वटा योजना मूल्याङकन भए । यसै वर्ष प्रमुखको अध्यक्षतामा सार्वजनिक निजी साझेदारी वोर्ड गठन भयो । व्यक्तिले कब्जा गरेको ३३ रोपनी भन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर सार्वजनिक उपयोगमा ल्याइयो । ५० वटा स्वास्थ्य संस्थाहरुको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरुलाई सुधारको मौका दिएर कारबाहीको दायरामा ल्याइयो ।
महानगरपालिका पक्ष विपक्ष भएका ४९३ वटा विवादमा प्रतिरक्षाको काम भयो । यसमध्ये १९३ वटामा फैसला भइसकेको छ ।
१ लाख २५ हजार २०६ जनालाई परिवार, नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन जस्ता सेवा प्रदान गरियो । २ हजार ९१० जनलाई पूर्ण खोप प्रदान गरियो । ४ हजार ४६६ जनाको पोषण लेखाजोखा भयो । ८५४ जना क्षयरोग लागेका विरामीलाई डट्स विधिबाट औषधी प्रदान गरियो । १ हजार २५० जना नागरिकलाई विपन्न उपचारका लागि शिफारिस गरियो । ६ हजार ६२४ जनाको एचपिभी डिएनए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरियो । १ हजार ४३३ जनालाई निःशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराइयो ।
५ हजार ५ सय कुकुर विरालाको वन्ध्याकरण गरियो । १६ हजार कुकुर विरालोलाई रेविज भ्याक्सिन दिइयो । १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइयो । २ हजार ५०० छाडा पशु व्यवस्थापन गरियो । २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरियो ।
सार्वजनिक स्थलहरुको सरसफाइका लागि ३ सय जना सफाइकर्मीहरु दैनिक रुपमा परिचालन गर्ने गरिएको छ । विष्णुमती, रुद्रमती (धोवीखोला), भचाखुशी, टुकुचा, सामाखुशी, बल्खु, करखुशी र मनोहरासहितका नदीहरुको विशेष सरसफाइ गरिएको थियो । ४० माइक्रोनभन्दा कम तौल भएका पाताला झोलाहरुको विक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइयो । ६० वटा स्वास्थ्यसंस्थाहरुको फोहरमैला व्यवस्थापन अनुगमन गरेर कानुनी दायरामा ल्याइयो ।
अफिस अटोमेसनअन्तर्गत इअफिस सञ्चालनमा ल्याइएको छ । जस प्रणालीमा अनलाइनबाट नै टिप्पणी लेख्ने, पेश गर्ने, दर्ता चलानी गर्ने प्रक्रिया हुने गरेको छ । इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम, इअफिस र शिफारिसका लागि ४७६ वटा डिजिटल सिग्नेचर प्रयोगमा ल्याइएको छ । ३२ वडा कार्यालय, ३२ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, महानगर प्रहरी बल, दमकल, विभिन्न आयोजना, पार्कसहित ८५ वटा सेवा केन्द्रलाई ईन्ट्रानेट सञ्जालबाट जोडिएको छ ।
कल सेन्टरमा प्राप्त भएका २ हजार १५८ गुनासामध्ये १ हजार ७६५ वटा गुनासो सम्बोधन गरिएको छ । २८ हजार १७२ कल रिसिभ गरिएकोमा २६ हजार १४ सम्बोधन भएको छ ।
४५ वटा मूर्त सम्पदा सम्बन्धी योजना सम्पन्न भए । सम्पदा संरक्षणका लागि २ सय वटा परम्परागत गुथि खललाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइयो । वडा नंं ५, ६, ७, १८ र २४ का स्थानहरुको मौलिक नाम सम्बन्धी अध्ययन सम्पन्न भयो ।
समीक्षामा बैठकमा उपप्रमुख सुनिता डंगोलले राजस्व संकलन कार्यलाई सरल र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।
चालु आर्थिक बर्षमा क्रमागत योजनाको संख्या धेरै भएकोले यस्ता योजना तत्काल सम्पन्न गर्नु पर्ने बताइन ।
Categorized in स्थानिय