काठमाडौं । नेकपा एमाले पोलिटब्युरो बैठकले नयाँ सरकार बनेको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि भएको निष्कर्ष निकालेको छ ।
मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निष्कर्ष सहितको प्रस्ताव समेत पारित गरेको छ ।
बैठकले १३ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पनि पारित गरिएको छ । सो प्रस्तावमा बैठकले असार १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिअनुसार नयाँ सरकार बनेको विषयमा पनि उल्लेख गरेको छ ।
लोकतन्त्र रक्षाको कठिन विकल्पका रूपमा निर्माण भएको यस सहमतिलाई पार्टी पोलिटब्युरो बैठक हार्दिक स्वागत गर्दछ र मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु प्रस्तावमा भनिएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरण जस्ता उपलब्धिहरूले जनतामा आशाको सञ्चार भएको एमालेको ठहर छ ।
बैठकले नेपाली समाजमा पुँजीका रूपमा रहेको विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका जनसमुदाय बीचको सहअस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान र सहयोग नेपाल राष्ट्रका चारित्रिक विशेषता तथा नेपाली समाजका अन्तरनिहित गुणहरूलाई कमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सदभाव तथा एकता कमजोर पार्ने प्रवृत्तिहरू देखा परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
त्यस्तै बैठकले कतिपय राजनीतिक दल एवं नेताहरूबाट अभिव्यक्त आवेगपूणर् अभिव्यक्तिप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बर्तमान सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेको बैठकको ठहर गर्दै बैठकले सरकारलाई दूध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल उपलब्ध गराउन, उखु किसानहरूका समस्या सम्बोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रूकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरू ठगिने स्थिति अन्त्य गर्न ध्यानकर्षण भएको जनाएको छ ।
हेरौं एमालेको १३ बुँदे पारित प्रस्ताव (क्लिक गरौं )
Categorized in राष्ट्रिय