काठमाडौं । सरकारले विभिन्न देशका लागि १७ राजदूत सिफारिस गरेको छ ।
आइतवार प्रस्तावित १७ देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ । पहिलो सुनवाइ चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भइरहेको छ ।
भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई पनि संसदीय सुनुवाइ समितिको बैठकमा बोलाइएको छ ।
समितिका अनुसार चार जना (नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठ) विरुद्ध उजुरी परेका छन भने १३ जनाविरुद्ध कुनै उजुरी परेको छैन ।
प्रस्तावित राजदूतहरुमा इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल, पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेल, कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल छन ।
त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ ।
सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
Categorized in राष्ट्रिय