काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक सांस्कृतिक जात्रा येँयाः ११४४ (इन्द्रजात्रा)को लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामानलाई जिम्मेवारी दिएको छ ।
काठमाडौं महानगर– ८ का अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतलाई विहिवार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा मुल समारोह समिति समेत गठन भएको छ । मूल समारोह समितिका सदस्यहरुमा सम्पदा तथा पर्यटन समितिका सदस्यहरु रहेका छन भने सदस्य सचिव विभागका प्रमुख कुमारी राई छिन ।
संयोजक संगतले यसपटक कुमारी रथयात्राका दिन उपत्यका पालिकाहरुका प्रमुख उपप्रमुख, विभिन्न खेलबाट ख्याती कमाएका खेलाडी, कला क्षेत्रबाट कलाकारसहितका व्यक्तित्वहरुलाई नेवा भ्वः (नेवारी भोज) का लागि आमन्त्रण गरिने बताए ।
जात्रा सञ्चालनसँग सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय र मौलिक परम्पराको निरन्तरतामा ध्यान दिइने संगतको भनाइ छ । जात्रासँग सम्बन्धित सांस्कृतिक क्रियाकलाप र सामाजिक सहभागिता, पूजाआजा, रथयात्रा, राष्ट्रपतिको सवारी योजना, सुरक्षा योजना, जात्रा पूर्व, जात्राको अवधि र जात्रा पछिका कार्यक्रमसँग महानगरपालिका, हनुमानढोका संग्रहालय विकास समिति, गुठी संस्थान, नेपाली सेना, नेपाल प्रहरी, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसहित स्थानीय गुथिगहनाको भूमिका रहन्छ ।
यसको समन्वय र व्यवस्थापन गर्न अतिथि सत्कार, सुरक्षा व्यवस्थापन, मिडिया तथा प्रचारप्रसार र सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार जात्रा सञ्चालन गर्न स्थानीय ३१ वटा संघसंस्थाको सक्रिय हुने जानकारी दिए ।
इन्द्रध्वज लिन वन प्रस्थानबाट जात्राका औपचारिक कार्यक्रम सुरु हुन्छन् । त्यसै दिन यःसिं (लिङ्गो) का रुपमा छानिएको रुख (वृक्षकर्तन) काटिन्छ । यःसिं ३३ फुट अग्लो हुन्छ ।
Categorized in सम्पदा/संस्कृति