३० श्रावण २०८३, शनिबार
Header

सत्ता बहिर्गमन भएकी हसिना पुगिन भारत, नेपालले बढायो सुरक्षा सतर्कता 


प्रकाशित: सोमवार, २१ साउन २०८१, २१ः१० बजे
- महानगरखवर

काठमाडौं । आरक्षण कोटाको विरुद्धमा चर्केको विद्यार्थी आन्दोलनबाट बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले सत्ताबाट हात धुुनु परेको छ ।


सोमबारको विद्यार्थी आन्दोलनले चर्को रुप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा गरेर बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना यतिखेर भारत पुगेकी छन । 


भारतीय समाचार संस्थाका अनुसार हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको छ । 


उनी सेनाको सी–१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत गएकी हुन । 


सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन भने प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेर विभिन्न समानहरु ओसारि रहेको भिडियो सार्वजनिक भएको कछ ।


हसिना सन २००९ देखि लगात्तार सत्तामा थिइन ।  उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन ।

 
गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो ।

 
यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।  


हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेर अन्तरिम सरकार बनाउने बताएका छन । 


भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलनले राष्ट्रव्यापी रुप लिएपछि उक्त सरकारविरोधी आन्दोलनमा परिणत भएको हो । 


आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए ।


सन १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । 


जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश गरेको थियो । 


सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन  भनिएपनि विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग  राख्दै आन्दोलनलाई निरन्तरता दिए ।


विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए । 


यता नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको समितिको बैठकले बंगलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत जावत्लाई व्यवस्थित गर्न तथा मानिसको चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो । 


बैठकमा बंगलादेशको घटना र त्यसले नेपाललाई पार्न सक्ने असरका विषयमा समीक्षा भएको थियो । 


सोही क्रममा विगतमा म्यानमारबाट रोहिंग्या र अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँका नागरिक गैरकानूनीरुपमा भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।


यसपटक त्यस्तै किसिमका घटना दोहोरिन नदिन सोहीअनुसार सीमानामा सुरक्षा सावधानी अपनाउनुपर्ने विषयमा समीक्षा भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex