काठमाडौं । पाटन उच्च आदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ विस्तार सुरु गरेको छ ।
बुधवार विहानै देखि काठमाडौं – २४ वडा अन्तर्गत पर्ने सडक जुद्धशालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारको काम सुरु गरेको हो ।
यस अघि महानगरपालिकाले २०८१ जेठ ११ गते उक्त सडकमा पैदल मार्ग सुधार गर्ने काम अघि पढाएपनि डिभिजन सडक कार्यालयले रोकिदिएको थियो ।

महानगरपालिकाले यसविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । महानगरपालिकाको रिटमा माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि आजबाट रोकिएको काम सुरु भएको हो ।
डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आ. व. २०८०/८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

३० असारमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालय काठमाडौंले महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय