काठमाडौं । दक्षिण एसियाली पत्रकारबीच साझा ऐक्यबद्धता र सहकार्य गर्न आठ बुँदे घोषणापत्र पारित गर्दै पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।
यही जेठ १९ गते ललितपुरको जवालाखेलस्थित स्टाफ कलेज र २० गते भक्तपुरको ठिमी ब्याँकेटमा भएको दुई दिने सम्मेलनबाट काठमाडौँ (थिमी) घोषणापत्र जारी गरिएको हो ।
जारी घोषणापत्रमा नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्ती (हरेक वर्ष बुद्धजयन्तीको अघिल्लो दिन) मनाउँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई अझ व्यापक गर्ने उल्लेख गरिएको छ ।
घोषणापत्रमा मातृभाषा जोगाउन तथा त्यसका लागि मातृभाषाका पत्रकार र सञ्चारमाध्यमलाई विशेष सहुलियत, अनुदान तथा पत्रकारलाई सीप विकासको लागि सहायता प्रदान गर्ने र मातृभाषा पत्रकारिता सम्मेलन नियमितरुपमा विभिन्न राष्ट्रमा आयोजना गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी, विविध भाषाभाषीले पुस्तौँदेखि सङ्ग्रह गरिराखेको ज्ञान, सीप र प्रविधि विश्वव्यापी रुपमा हराउने क्रममा रहेकाले त्यसको संरक्षणको लागि मातृभाषा पत्रकारिताको माध्यमलाई प्रभावकारी र शक्तिशाली माध्यम बनाउने घोषणापत्रमा बताइएको छ ।
विविध भाषाभाषी, बहुल जातजाति र समुदायलाई सम्बन्धित मातृभाषाको माध्यमबाट सुसूचित हुने र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति ऐक्यबद्धता प्रकट गर्दै घोषणापत्रमा दक्षिण एसियाली राष्ट्र, जनताबीच सुमधुर बनाउन मातृभाषाको पत्रकारिता माध्यमबाट बढावा दिने भनिएको छ ।
घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, सार्क जर्नालिष्ट फोरमका केन्द्रीय अध्यक्ष राजु लामा, सार्क जर्नालिष्ट फोरमका महासचिव एमडी अब्दुल रहेमान, फोरमको भारत च्याप्टरका अध्यक्ष सुधांशु अनिरुद्ध र भुटान पत्रकार सङ्घका किन्ले डिमले हस्ताक्षर गरेका छन ।
विसं १९८२ (नेपाल संवत १०४५) मा पाटन निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्ताबाट बुद्ध धर्म र नेपाल भाषाको गरी पाँच वर्षसम्म निरन्तर पत्रिका प्रकाशन गरेका थिए ।
सो पत्रिका १९ अङ्कसम्म प्रकाशित भएपछि बन्द भएको थियो । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको सन्दर्भमा मातृभाषा पत्रकारिता शताब्दी वर्षअन्तर्गत सो सम्मेलन आयोजना गरिएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सँग सहकार्य गरी सम्मेलन आयोजना गरेको हो ।
उद्घाटनसत्र र समापनसत्रमा उठेका विषयमा भएका छलफलसमेतलाई समेटेर घोषणापत्र तयार गरिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।
घोषणापत्रले मातृभाषा पत्रकारिताको विशेषता, त्यसको महत्व तथा एजेण्डाका विषयमा दक्षिण एसियाली पत्रकारबीच ऐक्यबद्धता र सहकार्यको लागि आधार भूमि तयार गरेको घोषणापत्र मस्यौदा समितिका संयोजक एवं पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले बताए ।
सम्मेलनको पहिलो दिन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहको उद्घाटन गरेकी थिइन भने दोस्रो आर्थात समापन परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा गरिएको थियो ।
Categorized in राष्ट्रिय