काठमाडौं । आज बिहीबार सिंहदरवारस्थित एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरू र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि नेपाल सरकारको रणनीति तयारी विषयमा छलफल हुने छ ।
मध्याह्न साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने छ ।
त्यसैगरी दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा नेपालमा एसिड आक्रमणका पीडितहरूको क्षतिपूर्तिबारे छलफल हुनेछ ।
बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठठमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
बिहान ११ बजे नै सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ। बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
Categorized in राष्ट्रिय