काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०/०८१ को वित्तिय अवस्था सार्वजनिक गरेको छ ।
चालु आ.व.को ९ महिनाको तथ्यांकमा आधारित सार्वजनिक वित्तिय अवस्थामा अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ ।
गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ ।
खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ । मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९ रहेको छ ।
गैर मदिराजन्य पेय पदार्थको ६।०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।
सेवासमूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।
उपभोक्ता मुद्रास्फीतिको चौथो बुँदामा चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको उल्लेख छ ।
त्यसैगरी, ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार चार सय २२ पुगेको छ ।
पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।
बंैक तथा वित्तिय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ ।
निक्षेपको बृद्धिदर १२. ५ र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर ४.९ प्रतिशत रहेको छ ।
आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाट २.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
हेरौं वित्तिय अवस्था: हेरौं वित्तिय अवस्था
Categorized in बैंक