काठमाडौं । संसदको बजेट अधिवेशनको पहिलो बैठकले सहकारी प्रकरणले तातिएको छ ।
बैठक सुरु भए लगत्तै बोल्न पाएका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी घोटला प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकोले छानविन समितिको नबनेसम्म संसदको कामकारवाही अघि नबढ्ने बताए ।
थापाले संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गर्दै गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएको दस्तावेजहरु प्रस्तुत गर्दै आफ्ना कुराहरु राखेका थिए ।
‘यो सदन अघि नबढ्नेको जिम्मेवार नेपाली कांग्रेस होइन, सरकारले गरेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। राज्यका तमाम अंगहरूलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो,’ उनले भने, ‘तपाईंहरूले धोएर पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।’
उनले भने,‘सरकार आफैँ निहुँ खोज्न आएको, वातावरण बिगार्न आएको र सरकारकै कारण अप्ठ्यारो सिर्जना भएको र अब संसदको कुनै पनि कामकारबाही अघि बढ्ने कुरामा नेपाली कांग्रेसको साथ रहँदैन, जबसम्म संसदीय छानबिन समिति बन्दैन ।’
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको होइन, संसदीय छानबिन समिति गठन गरौं’भन्दा पनि सत्ता पक्षले नमानेको थापाको भनाइ थियो।
‘सहकारीको ठगीका सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्। यसमा एमाले, माओवादी, रास्वपा र कांग्रेस बस्ने होला,’ उनले भने, ‘ढिकीजाँतो तपाईंहरूकै हातमा छ, तथ्य हामीले बनाउने हैन होला।’
संसद थापाले आफ्ना भनाई टुंगाएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्ने मौका दिएपनि कांग्रेसका सांसदहरुले रोष्ट्रम गएर घेराबन्दी गरेका थिए ।
बैठक स्थगित भएपछि संसद बाहिर गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न सांसद थापालाई चुनौती दिएका छन् ।
उनले भने,‘प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले अफूलाई संसदमा बोल्न दिनु पर्ने माग गरेका छन ।
‘के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?’ उनले सञ्चारकर्मीहरु समक्ष भनेका थिए ।
गृहमन्त्री ामिछानेले आफूले ऋण लिएको प्रमाणित गरे राजनीति छाड्ने र प्रमाणित नभए ाजनीति छाड्न तयार हो भनेर थापालाई प्रश्न गरको थिए ।
कांग्रेस महामन्त्री थापाले पनि गृहमन्त्री लामिछानेको सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् ।
थापाले भने, ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’
गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे–जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ ।
अब संसदीय समिति नबनेसम्म आगामी दिनमा संसद नचल्ने थापाले बताए ।
पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने सडकमा पनि जान्छ र सरकार सामना गर्न तयार हुनु पर्ने थापाले बताए ।
Categorized in राष्ट्रिय