काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलिय बैठकमा नेपाली कांग्रेसले सहकारी बचतको अपचलनको छानविन समिति गठन बनाउनु पर्ने अडान दोहोराएका छन ।
मंगलवार बोलाएको सो बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशको उपप्रधान तथा गृहमन्त्रीमाथि उठेको प्रश्न भएकोले मुलुकमा संविधान र कानुनभन्दामाथि कोही पनि नरहेकोले छानबिन समितिबाट टुंगोमा पुग्नुपर्ने बताए ।
कांग्रेसले निरन्तरमा संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो ।
बैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट बजेट अधिवेशनको आव्हान भएपछि संसद सुचारु रुपमा सञ्चालनको लागि कांग्रेससँग सभामुखले छलफल गरेको हो ।
यता बैठकमा सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन अस्वीकार गरेका छन ।
सर्वदलीय बैठकमा लामिछानेले त्यस्तो समितिले गलत नजिर बस्ने तर्क गरेका छन । उनले त्यस्तो समिति व्यक्तिलाई केन्द्रित गरी बनाउने लागिएको भन्दै अस्वीकार गरे ।
बैठकपछि गृहमन्त्री लामिछाने पत्रकारहरुसँग भने,‘ सम्मानित अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिसकेको मानिस सदनमा आउने, कतै आरोप, अभियोजन, उजुरी नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने यही हो नजिर । हाम्रो संसदीय मान्यता यही हो ? अब प्रतिपक्षले जिम्मेवार भएर अघि बढ्नुपर्छ । देशमा धेरै बेथिति विसंगति छन होला, तिनलाई समाधान गर्नुपर्छ ।’
उनले आफूमाथि कहिँकतै उजुरी नरहेको दाबी गरे । महान्यायाधिवक्ताको कार्यालयले कुनै उजुरी नरहेको पत्र दिएको भन्दै त्यसलाई समेत आधार मानेर यस्तो समिति गठनको औचित्य नरहने लामिछानेको तर्क छ ।
Categorized in राष्ट्रिय