काठमाडौं । काठमाडौको पुतलीसडकस्थित ‘पिपुल वर्क ग्रुप’ नामको कार्यलय संचालन गरी पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेको छ ।
२६ बर्षीय विटाली विलिया र २३ वर्षीया नटलिया मेलनुचुक लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोल्याण्डमा सजिलै रोजगारमा जान सकिने, मासिक ९० हजार देखि १ लाख रुपैयाँसम्म तलबको सुविधाको प्रभोलन देखाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने भन्दै प्रोसेसिङको लागि प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म रकम संकलन गर्ने गरेको भन्ने पीडितहरुको निवेदनको आधारमा महानगरीय प्रहरी महाशाखाको प्रहरीले उनीहरुलाई उक्त कार्यालयबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, राहदानी २ थान, विभिन्न छापहरु ३ थान, स्क्यानर १ थान, ल्यापटप चार्जरहरु र विभिन्न कागजपत्रहरु समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ दुबैजनालाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
Categorized in समाज