काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले विहिवारको बैडकमा गणपुरक संख्या पुग्ने डरले विपक्षीहरु बाहिरिएको आरोप लगाएको छ ।
शुक्रवारको संसद बैठकमा सांसद केसीले सो आरोप लगाए लगत्तै विपक्षी दल नेकपा एमालेले उठेर विरोध गर्दा संसद अवरुद्ध भएका थिए । एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले पनि उठेर साथ दिएका थिए ।
एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
केसीले भने, ‘हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०/१५ जना सांसद बाहिर जानुभयो ।’
यो भनाईसँगै संसदमा वादप्रतिवाद सुरु भएको थियो । विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ ।
सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताए ।
एमाले सांसदहरु उठेर विरोध गरे । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
Categorized in राष्ट्रिय