काठमाडौँ । प्रजातन्त्रको लागि अमरत्व प्राप्त गरेका सहीद गंगालाल र दशरथ चन्दको नाममा शोभाभगतीमा स्मृति सभा सम्पन्न गरिएको छ ।
सोमवार काठमाडौं महानगरगरपालिकाको आयोजनामा अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृति सभा सम्पन्न गरिएको हो।
सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगर १५ वडा अध्यक्ष इश्वरमान डंगोल, २३ वडा अध्यक्ष मचाराजा महर्जन लगायतले सहीदहरु प्रति पुष्पगुच्छा अर्पण गरेका थिए । वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले भने,‘अहिले सरीर त्याग गर्नु पर्ने अवस्था छैन । व्यक्तिगत स्वार्थ त्याग गरेर नागरिक सुविधाका लागि थप मिहनेत गरे पुग्छ ।’
वक्तहरुले सो अवसरमा गंगालालको पत्रको चर्चा पनि गरेका थिए। प्राणदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, ‘हजुरका अरु पनि छोरा छन । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस।’
हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए ।
त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए ।
इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो ।
श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छज । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो ।
त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गरेका थिए ।
महानगरपालिकाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक राखेको छ ।
यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।
सहिद दिवसको अन्तिम दिन मंगलवार बिहान ०८ बजे शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । ९ बजे सहिद स्मारक लैनचौर स्मृति सभा हुनेछ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु आउने कार्यक्रम छ । सोही दिन वडा नं. २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।
Categorized in राष्ट्रिय