२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सेतो मछिन्द्रनाथलाई महास्नान गराइयो, पढौं फ्रयान्की फ्रान्जको लेख 


प्रकाशित: विहिवार, ४ माघ २०८०, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । हरेक वर्ष पोंहेलाथ्व अष्टमी अर्थात् पौष शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने प्रचलन रहेको छ । काठमाडौको केलटोलस्थित जनबहालमा रहेको सेतो मछिन्द्रनाथलाई मन्दिर नजिकै रहेको न्हवं दबु अर्थात् महास्नान गराउने मण्डपमा बिराजमान गराइ विधिवत रुपमा पूजा अर्चना गरि नुहाइदिने गरिन्छ । 


नेपालभाषामा ञन्हवं याकेगुझ वा ञधलिं लुइकेगुझ भनी चिनिने यस शुभकार्यको लागि एकदिन अगाडि अर्थात् सप्तमीको दिन सम्बन्धित गुथियार तथा गुरुजुहरु बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा रहेको छ । 


आर्यावलोकितेश्वर तथा जनबहाःद्यः भनी जनमासमा प्रसिद्ध सेतो मछिन्द्रनाथको महास्नानको लागि ढल्को स्थित निर्मल तीर्थमा जल लिन जाने गरिन्छ। निर्मल तीर्थमा जल लिएर कलशार्चन पूजा गरी त्यहाँबाट विभिन्न पाठ( स्तोत्र पढ्दै ल्याउने गरिन्छ । 

 


यसरी ९ वटा कलशमा जल लिएर फर्कँदा, ठाउँ(ठाउँमा पराल जम्मा गरि आगो बाली आगो तपाउने चलन रहेको छ । यसरी आगो किन बालिन्छ भन्ने कुरामा यकिनन तथ्य नभएता पनि, तत्कालीन समयमा नदिबाट फर्किदा चिसो हुने तथा रातको समय भएकोले जनावरहरु आउन सक्ने हुनाले ठाउँ– ठाउँमा परालको मुस्लो बाली ठूलो आगो बाल्ने गरेको अनुमान गर्न सकिन्छ ।

 
विधिपूर्वक ल्याएको जललाई जनबहालमा लागि राखिन्छ भने अष्टमीको दिन सोही जलले अभिषेक गरि मछिन्द्रनाथको महास्नान गर्ने गरिन्छ। काठमाडौको महत्वपूर्ण पर्वको रुपमा रहेको यस महास्नानको समयमा  काठमाडौको श्री कुमारीलाई पनि जनबहालमा ल्याउन पर्ने प्रचलन रहेको छ । 

 


श्री कुमारीबाट दर्शन पश्चात् महास्नान गरि श्रद्धालुहरुलाई जल दिने गरिन्छ। मछिन्द्रनाथको महास्नानको समयमा पहिलो पटक जलाभिषेक गर्दा यदि जल देवताको दायाँ बगेमा माथिल्लो भेग तथा बायाँ बगेमा तल्लो भेगका किसानहरुले सबैभन्दा पहिला धान रोपाइँ गर्न पाउने जनविश्वास रहेको छ ।

 
हाल, काठमाडौमा खेतहरु मासिएसँगै यो कुराको जानकारी थोरै सँग रहेको छ, तापनी ज्येष्ठ नागरिकहरुलाई सोधे अझै पनि उहाँहरु बताउनुहुन्छ । 


न्हवं यायेगु सक्किएपछी सेतो मछिन्द्रनाथको मुर्तिलाई सेतो कपडाले छोपेर लगिन्छ र अर्कै स्थानमा राखिन्छ र  रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ । यस अविधिभर देवताको अपमान नहोस भनी उनको प्राणलाई तन्त्रविधी अनुसार अर्चना गरि एउटा पवित्र कलशमा सारिन्छ र सो कलशलाई मन्दिरमा राखिन्छ । 


यस कलशलाई ब्रम्हकलश भनि सम्बोधन गरिन्छ। सम्पूर्ण रंगरोगनपछि मिला पुन्ही (पौष पूर्णिमा) अर्थात् स्वस्थानी व्रत आरम्भ हुने पूर्णिमाको रातमा सेतो मछिन्द्रनाथको मुर्तिलाई मन्दिरको मूल ढोका अगाडि राखी दशकर्म गर्ने गरिन्छ । 

 


हामी साधारण मानिसको जस्तै सेतो मछिन्द्रनाथको पनि जन्म, अन्नप्राशन, व्रतबन्ध, विवाह आदि सम्पूर्ण कर्महरु गर्ने गरिन्छ। सेतो मछिन्द्रनाथ पुरुष र नारी दुबैको प्रतीक भएकोले नेवास् संस्कार अनुसार नारीलाई गरिने इहि (बेल विवाह), बाह्रा आदि पनि गर्ने गरिन्छ । दशकर्म विधि सक्किएपछी मछिन्द्रनाथको मुर्तिलाई पुनः मन्दिरमा स्थापना गर्ने गरिन्छ । 


यसरी जलाभिषेक र दशकर्म विधि गरि मन्दिरमा स्थापना गरिएका सेतो मछिन्द्रनाथलाई फेरि चैत्र कृष्ण अष्टमीको दिन निकाली जमल स्थित रथमा राखी ३ दिन भव्य रथ जात्रा गर्ने गरिन्छ । 
उपत्यकामा रहेको करुणामयहरु मध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृहरुको उद्धार गर्ने देवता तथा सुख शान्ती र रोगव्याधी निको पार्ने देवताको रुपमा पूज्ने गरिन्छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex