काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली ट्राफिक लाईठ जडान गर्ने भएको छ ।
महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरि ३६ स्थानमा सो प्रणाली जडान गर्न लागिएको हो ।
यसअघि बबरमहलस्थित काठमाडौ जिल्ला अदालत सडक अगाडी यस प्रणाली जडान गरिसकेको छ ।
हाल महानगरका ८९ सामुदायिक र ५०४ निजी विद्यालय सञ्चालनमा रहेको छ र यस प्रणाली जडानका लागि महानगरले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।
यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्न सहज गराउँदछ ।
विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले यस किसिमको प्रणाली जडान गर्न लागेको विज्ञ श्रेष्ठले बताए ।
पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन ।
Categorized in प्रबिधि