काठमाडौँ । महानगरीय अपराध महाशाखामा आर्थिक बर्ष २०७४÷०७५ मा ४०९ जनाविरुद्ध विभिन्न अपराध घट्नामा मुद्दा दर्ता भएको छ ।
महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ ।
ठगी सम्बन्धी १०२, सार्वजनिक अपराधका ७६, विद्युतीय कारोबार ऐन ६२, चोरी ४५, बैकिङ कसुर २९, सरकारी छापा दस्तखत किर्ते सम्बन्धी १५, मानव बेचविखन तथा ओसारपसार १२, भन्सार राजश्व छली ११ तथा कर्तव्य ज्यान सम्बन्धी १० वटा मुद्दा दर्ता भएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उप्रेतीका अनुसार महाशाखाले ४०९ अपराधका घटनामा ६६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।
पक्राउ पर्नेमा २० विदेशी नागरिकसमेत छन् ।
Categorized in समाज