काठमाडौं । पैदल यात्रुको सहजताको लागि काठमाडौं महानगरपालिकाले ८ नयाँ स्थानमा पुल निर्माण गर्ने भएको छ ।
ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइने भएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले बताएका छन् ।
अब बन्ने नयाँ आकाशेपुल विज्ञापन रहित हुनेछ । विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार गरिएको छ । यस अघि निर्माण भएका आकाशेपुलबाट कापमाले विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।
गत आवमा कामपाले विज्ञापन करबापत रु १० करोड ९४ लाख ८६ हजार ७९ असुल गरेको थियो ।
अहिले बन्ने नयाँ पुलको लागि कामपाले १२ करोड बजेट बिनियोजन गरेको महाशाखा प्रमुख थापाले जानकारी दिएको छ । कामपाको आफ्नै खर्चमा बन्न लागेको पुल विशेष प्रकारको हुनेछ । पुललाई ठाउँ स्थानन्तर गर्न सकिने गरि डिजाईन गरिएको छ ।
डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण सुरू गरिने प्रमुख इञ्जिनियर थापाले बताए । अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो ।
कामपाभित्र अहिले सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन ।
कामपाले चालू आव २०७५÷०७६ माभौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ ।
कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
Categorized in समाज