काठमाडौं । देशभरीबाट काठमाडौमा भेला भएका शिक्षकहरुले शिक्षा विधयेक खारेजीको माग गर्दै प्रदर्शन गरेका छन ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै बुधवार शिक्षकहरुले काठमाडौंमा आन्दोलन सुरु गरेका हुन ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरिरहेका छन ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।
महासंघको दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा असन्तुष्टि छ ।
Categorized in राष्ट्रिय