काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जवालखेलस्थित सदर चिडियाखानामा जेष्ठ नागरिक र अपांगता भएकाहरुका लागि बसको व्यवस्था गर्ने बताएका छन ।
प्रमुख महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउनका लागि छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन ।
शनिवार उनले विश्व बाघ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सो बताएका हुन ।
बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने व्यवस्था गरिने उनले बताए ।
उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । पहिला चिडिया खाना छिर्दा खेरी अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाइगर गेट भनिन्थयो ।
प्रमुख महर्जनले भने, ‘एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाइगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाइगर गेट बनाउँछौं । जसले यो चिडियाघरको रिफ्लेक्सन गर्छ ।’
Categorized in स्थानिय