काठमाडौं । मुलुकको सबैभन्दा जेठो अस्पाताल वीरले शनिबारबाट १२८ औं बसन्त पार गरी १२९ औं बर्षमा प्रवेश गरेको छ ।
तत्कालिन राणा सरकार श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते सर्वसाधारण जनताका लागि भनेर स्थापना गरेको थियो ।
वीर अस्पतालले पछिल्लो समय सेवामा आधुनिकता थपेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।
वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ ।अस्पताल प्रशासनका अनुसार इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको छ ।
नेपालमा नै नभएको ग्याँस्टो।मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन ।
त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ ।
वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ ।
सामाजिक अभियन्ताहरुको सहयोगमा वीर अस्पताल रङ्रोगन गरी आकर्षित बनाइएको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा भने वीरबाट ४ लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले प्रशासनले सञ्चारमाध्यमहरुलाई जानजकारी दिएका छन् ।
त्यसैगरी आर्थिक वर्ष ०७२/०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएको थियो भने ०७३/०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा लिएका थिए ।
Categorized in स्वास्थ्य