काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देखिने गरेका हिंस्रक जनावर एउटा चितुवा नियत्रणमा आएको छ ।
त्रिवि प्रिन्सिपल कार्यालयले करिब १५ दिन अघिदेखि सेवा आयोग परिसरमा थापिएको खोरमा हिजो राती एउटा चितुवा परेको हो ।
त्रिवि परिसरमा पटक पटक चितुवा देखिएका घटनाहरू सुन्नमा आएपछि नियन्त्रणमा लिने प्रयास गर्दै आएको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा. डा. ध्यानेन्द्रबहादुर राईले जानकारी दिए ।
नियन्त्रणमा आएको चितुवालाई वन विभागको जिम्मा लगाईने कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी राजु लामाले बताउनुभयो । त्रिवि क्षेत्रमा खुला छाडिएका गाई, बाच्छा र कुकुर खानका लागि चितुवा आउने गरेको प्रिन्सिपल राईले बताए ।
चितुवा डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाईएको छ । बिहान ११ बजे आईपुगेको प्राविधिक, चिकित्सकसहितको वन टोलीले चितुवालाई अर्को खोरमा सारी हात्तिसार लगेको छ भने चितवन राष्ट्रिय निकुञ्जमा छोड्ने बताएको छ ।
१५ दिनअघिदेखि खोर थापिएकोमा आज बिहान अन्दाजी वर्षदिन उमेरका वयस्क आफै सिकार गर्न सक्ने भएका चितुवा सिकारको खोजीमा निस्कंदा खोरमा कुखुरा देखेपछि फसेका थिए ।
Categorized in समाज