२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘कीर्तिपुर’ चिनाउने अमृतनगर प्रवेशद्वार बन्दै


प्रकाशित: बुधवार, १ चैत्र २०७९, १८ः३० बजे
- बिरेन्द्र शाक्य

काठमाडौं । कीर्तिपुर नगरपालिका २ वडा ट्यांग्लाको अमृत नगर नयाँ बस्ति प्रवेश मार्गमा एउटा भब्य प्रवेशद्वार निर्माण भैरहेको छ । 


सिमेन्ट ढलाईले ठिङ्ग उभिएको अग्लो द्वारलाई मौलिक नेवाः वास्तुकलाका दाची ईंटाले चारैतिर छोपिंदै गएपछि भने आकर्षक बन्न थालेको छ ।


पूर्ण स्वरुपमा आएपछि अझै थप आकर्षक, सुन्दर र भब्य बन्ने निश्चित छ र त्यसले कीर्तिपुरलाई चिनाउने अपेक्षा र विश्वास भने स्थानीय सरोकारवाला उपभोक्ताहरुको छ । 


ऐतिहासिक, धार्मिक र सांस्कृतिकरुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रख्यात काठमाडौं उपत्यकाको चौथो सहर कीर्तिपुरको चिनारी राजनीतिकरुपमा अझ फराकिलो र चर्चित छ । 


नेपालको हरेक राजनीतिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका खेल्दै आएको कीर्तिपुर चिनाउनपर्ने सहर त होइन । देशको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि कीर्तिपुरलाई सत्तहत्तरै जिल्ला र देशबाहिर पनि चिनाएको छ, नाम सुनेको छ । नामले यत्ति चर्चित भएर पनि भौगोलिकरुपमा भने अपरिचित बनेको अवस्थाले आम कीर्तिपुरवासीको मन, मस्तिष्कमा चिसो पसेकै छ ।

 


निर्माण कार्यमा सक्रिय स्थानीय समाजसेवी एवं अमृतनगर नागरिक समाजका पूर्वअध्यक्ष रामशरण त्रिपाठीले प्रवेशद्वार निर्माणको औचित्य प्रकाश पादै भन्नुभयो, ‘चक्रपथ खसिबजार हुँदै कलंकी दैनिक हजारौं मानिसहरु आवतजावत गर्छन् तर पारिपट्टि कीर्तिपुर हो भन्ने धेरैलाई थाहा हुन्न । चक्रपथ, खसिबजारदेखि पारि दक्षिणपट्टि अमृत नगर र खासगरि कीर्तिपुर चिनाउने हाम्रो उद्देश्य हो, द्वारको माथि अग्रभागमा ठूला अक्षरले ‘कीर्तिपुरमा हार्दिक स्वागत छ’ भन्ने लेख्ने योजना छ । यसले धेरै मानिसहरुलाई कीर्तिपुर चिनाउने छ ।’


निर्माण कार्यको रेखदेखमा खटेका अमृत नगर नागरिक समाज एवं कीर्तिपुर प्रवेश द्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक ढुंगाना भन्नुहुन्छ, ‘राजधानीको प्राचीन एवं ऐतिहासिक सहर कीर्तिपुर चिनाउने उद्देश्यले हामीले परम्परागत नेवाः शैलीमा प्रवेशद्वार निर्माण योजना अघि बढाएका हौं । प्रवेशद्वारलाई पुरानो मौलिक स्वरुपमा सजाउन मध्यपुर थिमिका तीन जना सिल्पकारहरु हिजो फागुन ३० गतेबाट काममा खटेका छन् । विभिन्न कलात्मक बुट्टेदार ईंटाबाट द्वार सजाउँदै गरेका कर्मीहरु भन्छन, ‘हामी १५ दिनमा काम सम्पन्न गर्नेछौं ।’


कूल लागत ९ लाख ६६ हजार ७ सय ५७ रुपैयां ६८ पैसा रहेको उक्त योजनाको कीर्तिपुर नगरपालिकाबाट ७ लाख ७२ हजार र उपभोक्ताबाट १ लाख ९४ हजार ७ सय ५७ रुपैयां ६८ पैसा ब्यहोर्ने योजना पाटीमा उल्लेख छ ।

 

तस्वीरहरुः बिरेन्द्र शाक्य/महानगखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex