६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यसरी हुँदैछ राष्ट्रपति निर्वाचनको तयारी, ८८१ जना मतदाता हुने


प्रकाशित: मंगलवार, ९ फागुन २०७९, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले सोमवार बानेश्वरस्थित सांसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेको छ ।


फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले निर्वाचन तालिका यस अघिनै सार्वजनिक गरेपछि निर्वाचनको तयारी पनि सुरु गरेको हो ।


आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गरेसँगै आयोगका कर्मचारी निर्वाचनका लागि खटिएका छन ।


आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत, पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ ।


कार्यालयबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने प्रमुख आयुक्त थपलियाले बताएका छन । 


प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ बजेसम्म मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने जानकारी दिए ।


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन । 


प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेका कारण राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ ।


प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन ।


विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।


स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । 


फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । 


उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।


वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex