काठमाडौं । काठमाडौं महानगरपालिका लगायत वरपरको नगरपालिकाहरुले गरेको डोजर कारवाहीविरुद्ध विरोध प्रदर्शन हुने भएको छ ।
आईतवार (माघ १५ गते) काठमाडौंको माईतीघर मण्डलमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले बृहत विरोध प्रदर्शन गर्ने भएको हो ।
काठमाडौं महानगर लगायत वरपरका नगरपालिकाहरुले नागरिकको निजी घर जग्गामा सडक विस्तारको नाममा अनाधिकृत रुपमा डोजर कारवाही गरी आतंक फैलाएकोले सो विरुद्ध सचेत गराउन विरोध प्रदर्शन हुन लागेको संघर्ष समितिका संयोजक सुमन सायमीले बताएको छ ।
दिउँसो २ बजे हुने सो विरोध प्रदर्शनमा महानगरबाट पीडित सबै पक्ष र महानगरवासीहरुलाई सहभागी हुन आव्हान समेत गरिएको छ ।
काठमाडौं महानगरपालिको पछिल्लो समय पुस २८ गते सडक विस्तारको नाममा काठमाडौं – ३१ वडास्थित शंखमुलमा साहेल महर्जनको नीजि घर जग्गामा विना आधार डोजर कारवाही गरेपछि महानगरको डोजर आतंक बढेको सायमीको भनाई छ ।
सो कारवाही विरुद्ध महानगरको १२ औं नगर अघिवेशनमा प्रमुख बालेन्द्र साह (वालेन)लाई वडा अध्यक्षहरुले जवाफ माग गर्दै चर्को विरोध समेत गरेका थिए ।
महानगरले विभिन्न अनाधिकृत संरचनाहरुमा हटाउने क्रममा भएको डोजर कारवाहीले धेरै पक्ष पीडित भएको सायमीले बताएका छन ।
Categorized in स्थानिय