काठमाडौं । आज विहान भएको पोखरा विमान दुर्घटनमा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा सवार विमान चालकसहित ७२ जना सहभागी थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो ।
३ जनाको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन । पुष्टि भएको शवमध्ये ३४ को शब गण्डकी अस्पतालमा राखिएको छ भने अरु शवहरु घट्नास्थलबाट संकलन भईरहेको छ ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको थियो ।
जहाज पोखरा महानगरपालिका –१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो ।
अहिले सम्म पहिचान भएको शबहरुमा पत्रकार त्रिभुवन पौडेल, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ ।
यता सरकारले दुर्घटनाको छानविन गर्नको लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर–सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।
आयोगका सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन ।
आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ ।
Categorized in राष्ट्रिय