काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अवसर केन्द्रित गठबन्धनको आयु छोटो भएको बताएका छन ।
बुधवार पर्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतले सो कुरा बताएका हुन ।
उनले अहिलेको गठबन्धनमा विपरित विचार, धारका दलहरुहरुको गठबन्धन भएको र पदीय लोभमा समावेश भएकोले यो सरकारको आयु लामो नरहेको धारणा राखे ।
‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा हुन्न भन्ने, संघीयता चाहिन्छ चाहिन्छ भन्ने र चाहिँदै चाहिँदैन भन्ने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ’ उनले भने ।
गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । ‘यस्तो विरोधाभासपूर्ण अवस्था छ, त्यो बोझबाट नै यो गठबन्धन आयु छोटिन सक्ने प्रशस्त सम्भावना छ ।’
उनले गठबन्धन टुटेपनि कांग्रेस विचलित भएको छैन, यसको पछि विश्लेषण हुने बताए ।
चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि हुन नसकेको उनले सुनाए ।
‘कांग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौ ।
‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’
प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गरे ।
कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको उनको दावी छ ।
कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताए।
उनले अब आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताए।
Categorized in राष्ट्रिय