काठमाडौँ । नेपाल पत्रकार महासंघले सन २०२२ नेपाली प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै चुनौतीपूर्ण बितेको जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ती जारी गरी नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका घटनामा पनि नयाँ–नयाँ तरिका अपनाइएको र त्यसैगरी चुनौतीहरु पनि थपिएको बताएको छ ।
‘समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ–नयाँ तरिका अपनाएर आक्रमण गर्नेक्रम सुरू भएको छ । यसले नेपाली पत्रकारिता क्षेत्रमा चुनौती थपेको छ,’ महासंघका महासचिव पुरीले विज्ञप्तिमार्फत भनेका छन ।
अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा हृयाक गर्ने काम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार यस प्रकारको घट्नामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन ।
यो वर्ष गिरफ्तारी ३, कब्जा अवरोध ७, धम्की २२, आक्रमण ७, पेसागत असुरक्षा ११, नीतिगत बन्देज १, लैंगिक हिंसा १ र विस्थापनका १ घटना भएका छन ।
Categorized in राष्ट्रिय