काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान समारोह आयोजना गरेको छ ।
सोमवार कान्तिपथस्थित आयोग परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष उपस्थितीमा जलपानको आयोजना गरिएको थियो ।
सो अवसरमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, झलनाथ खनाल, पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिी रहेको थिए ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने, राष्ट्रिय प्रजतान्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन, जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत लगायतको सहभागिता रहेको थियो ।
संवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित महानुभाव पनि समारोहमा उपस्थित थिए । समारोहस्थलमा अतिथिहरूलाई प्रमुख निर्वाचन आयु्क्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए ।
थपलियाले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।










तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय