काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुकुम्बासी समस्या लगायतका प्रश्नहरु गरेका छन ।
मंगलवार एमाले अध्यक्ष ओलीले सुकुम्बासीमा महानगरको डोजर चलेपछि प्रतिप्रश्न गर्दै सत्ताको दुरुपयोग गरेको भनी प्रतिक्रिया दिएपछि महानगर प्रमुख बालेनले आफ्नो फेसबुक वालमा ओलीलाई प्रतिप्रश्नहरु गरेका छन ।
उनले भने, ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’
उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन ।
‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’
मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, उनले चेतावनी दिएका छन ।
Categorized in राष्ट्रिय