काठमाडौं । निर्वाचन आयोगले हिजो राती १२ बजेदेखि सुरु भएको स्थिर (मौन) अवधिमा चुनावी प्रचार प्रसार सामग्री नराख्न आग्रह गरेको छ ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका हिजोबाट सुरु भएको मौन अवधि सबैले पालना गर्नु पर्ने बताएको छ ।
निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ ।
आयोगले समाजिक सञ्जाल प्रयोकर्ताहरुलाई चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न भनेको छ ।
निर्वाचन सन्देश
त्यसैगरी सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि गर्न मौन अवधिमा नपाइने भएकोले त्यस्ता सामग्री हटाउन पनि भनेको छ ।
निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरेको छ ।
मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम नगर्न आयोगले आग्रह गरेको छ ।
मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ ।
Categorized in राष्ट्रिय