६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मंसिर ४ गते निर्वाचनका दिन यी सवारी साधनहरु चलाउन पाइने


प्रकाशित: शनिवार, २६ कात्तिक २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानका दिन सवारी साधन चलाउन पास चाहिने भएको छ । 


निर्वाचन आयोगका अनुसार सो दिन चलाउने सवारी साधनले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्ने छ ।  


एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र  लिनु नपर्ने आयोगले जनाएको छ ।


त्यसैगरी आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्ने व्यवस्था गरेको छ ।  


अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ ।


पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी आयोगले जनाएको छ । 


यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुुहरुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न सक्ने आयोगले बताएको छ ।


अन्य सवारी साधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ । 


मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।


आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ । 


मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने जनाइएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex