१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बाङ्गेमुढाको त्वाःछेँ बचाउन संघर्ष समिति गठन


प्रकाशित: शनिवार, ५ असोज २०७९, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँ बचाउनको लागि एक संघर्ष समिति गठन गरिएको छ । 


शुक्रवार प्रा.रमेश श्रेष्ठको अध्यक्षतामा त्वाः छेँ बचाउ संघर्ष समिति गठन गरिएको हो । समितिलाई तिहार लगत्तै तत्कालीन २८ वडा भित्रका टोलका प्रतिनिधि साथै सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु थप गर्दै पूर्णता दिने बताइएको छ । 


त्वाःछेँ समितिको आयोजनामा थाय्मदु बहालमा आयोजना भएको छलफल कार्यक्रमबाट संघर्ष समिति गठन गरिएको हो ।

 


समितिका अध्यक्ष प्रा.श्रेष्ठले काठमाडौं भित्र लालपूर्जा नभएका र नक्सा पास नगरिएका सामुदायिक भवनहरुको साथै पाटी, पौवाहरु थुप्रो रहेको भन्दै यस्ता सम्पदाको बचाउको लागि संघर्ष समिति गठन गरिएको बताए । 


उनले भने, ‘विगतमा यस्ता संरचना बनाउन नक्सा पास व लालपूर्जा समेत चाहिँदैन थियो । अहिले यहि नक्सा पास र लालपूर्जाको नाममा सामुदायिक सम्पत्तिमा महानगरले डोजर चलाउन थालेको छ’, श्रेष्ठले भने, अस्तित्व संकटमा परेको यस्ता सम्पदाको संरक्षणका लागि हामी जुट्नुपर्छ ।’


गत असोज १४ गते थायमदुस्थित त्वाःछेँ भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उच्च अदालत पाटनले त्वाःछेँ समिति र वडा कार्यालय दुवै पक्षले त्वाःछेँ भवनमा क्षति पुग्ने कुनै काम नगर्न र भवनलाई यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । 


तर अदालतको अन्तरिम आदेशका बाबजुद हिजो काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष राजेश डंगोलहरुले कामदारहरुको टोली ल्याई भवन भत्काउने प्रयास गरेका थिए ।

 
प्रा. श्रेष्ठले अदालतको अन्तरिम आदेश देखाउँदा वडाध्यक्षले आफुलाई यस आदेशबारे थाहा नभएको र सर्वोच्च अदालतको आदेश लिएर आउन भनेको बताए । 


विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन रहेको अवस्थामा तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा काठमाडौं महानगरपालिकाबाटै त्वाःछेँ भवन बनाइदिने र हालको भवनको पछाडी रहेको ४ आना जग्गामा वडा भवन बनाउने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।


‘तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा सम्झौता नै भइसकेको थियो तर एकाएक पछि एक हप्ताभित्र भवन खाली गरिदिन भन्दै वडा कार्यालयबाट पत्र आयो’ अध्यक्ष श्रेष्ठले भने । श्रेष्ठले थप जानकारी दिँदै भने, ‘त्यसपछि हामी जिल्ला अदालत गयौं, जिल्ला अदालतमा दुबै पक्षको प्रमाण नपुगेको भन्दै फैसला सुनायो र पछि हामी उच्च अदालत गयौं । 


अहिले यो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।’ २०४४ सालमा नापी आउँदा फिल्डबुकमा त्वाःछेँ भनेरै उल्लेख गरिएको तर ५७ सालमा आएर भवनलाई वडा अफिस भनेर लेखिएको अर्को फिल्डबुक देखिएको श्रेष्ठले बताए ।


कार्यक्रममा बोल्दै त्वाःछेँ समितिका उपाध्यक्ष राजेश श्रेष्ठले समितिमा त्वाःछेँको नामबाट कसैले आर्थिक अनियमितता गरेको भए प्रमाण सार्वजनिक गर्न समितिले चुनौती दिएको छ । उपाध्यक्ष श्रेष्ठले केही व्यक्तिहरुले त्वाःछेँको नाममा दुई चार जनाले पैसा खाएको भनी भ्रामक प्रचार गर्दै हिँडेको भन्दै सके प्रमाण लिएर आउन चुनौती दिए । ‘त्वाःछेँ समितिको सबै पैसा शुभ गणपति, मंकाः धुकू र मिलन सहकारी संस्थाको खातामा सुरक्षित छ । यो कुनै व्यक्तिले चलाएको छैन र विभिन्न सामुदायिक उद्देश्यको लागि नै खर्च गर्ने गरिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पैसा खाएको भन्ने हो भने प्रमाण लिएर आउनु, नभए सिमित स्वार्थ पूर्तिका लागि भ्रामक प्रचार नगर्नु ।’ 


२०३५ सालमा उक्त भवन निर्माण गर्न आर्थिक सहयोगको साथमा जन श्रमदान समेत गरेका स्थानीय ८२ वर्षीय ज्येष्ठ नागरिक गुह्यरत्न शाक्यले २०३५ सालमा भवन बन्दाको शिलापत्रले सबै यथार्थ बताइदिने दावी गरे । 


कार्यक्रममा वक्ताहरुले आम जन समुदायले सरकारी र सार्वजनिक जग्गाको फरक बुझ्नुपर्नेमा जोड दिइएको थियो । साथै त्वाःछेँ भवनमा वडा कार्यालयलाई स्थान दिन आफुहरुलाई कुनै आपत्ती नभएको तर सामुदायिक सम्पत्तिको अस्तित्व नै सिध्याइदिन खोजेकोमा आफुहरुको आपत्ती भएको समितिले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex