काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाताले नामावली अद्यावधिक गर्न सक्ने भएको छ ।
मंसीर ४ गते हुने सो निर्वाचनको लागि आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावली अद्यावधिक गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
सो अवधिमा मतदाताले त्रुुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सक्नेछ ।
त्यसैगरी एकाघर परिवारको सदस्यको मृत्यु भएमा नाम हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ ।
नामावलीमा नामावली अद्यावधिक गर्न इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने आयोगले जनाएको छ । भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिन आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने बताएका छन ।
मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो । आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ ।
गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ ।
स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरू गरेको थियो ।
Categorized in राष्ट्रिय