काठमाडौं । आजदेखि एक महिना सम्म चल्ने नेवाः समुदायको गुंला पर्व सुरु भएको छ ।
काठमाडौंको विभिन्न बाजः खलहरु बाजा बजाउँदै स्वयम्भूु परिक्रममा गर्ने परम्परा छ ।
गुंला धर्म नेपाल सम्बतको गुंला महिनाभरी चल्ने एक प्राचीन पर्व हो । नेपाल सम्वतको १० औं महिना गुंलाको गुंलाथ्व पारु देखि ११ औं महिना यँलाको यँलाथ्व पारु सम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्व दिएको पाइन्छ ।
विक्रम सम्वत अनुसार हेर्ने हो भने यो पर्व श्रावण शुक्ल प्रतिपदाको दिनबाट सुरु भइ भाद्र शुक्ल प्रतिपदाको दिन समापन हुने गर्दछ । यस गुंला महिनाभरी, विभिन्न बहाल, बहिल, चोक, विहार तथा चैत्यस्थानको दर्शन गर्ने, विभिन्न पाठ गर्ने, वाद्यवादन बजाउने , दानधर्म आदि गरिने भएकोले यस पर्वलाई गुंला धर्म भनिएको मानिन्छ ।
गुंला धर्म अविधिभर विभिन्न चैत्य, बहालहरुको दर्शन गर्न जाने प्रचलन रहेको छ। यस अविधिमा विशेष गरि स्वयम्भू महाचैत्यमा १ महिना मेला लाग्ने गर्दछ ।
गुंला धर्म भरी काठमाडौका मुख्यत ३२ टोलबाट विभिन्न बाजागाजा सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ । यस बखत विशेष गरि गुंला बाजा बजाइन्छ, अर्थात् धाँ बाजा बजाइन्छ । यस महिनामा पर्ने विभिन्न तिथीहरुमा काठमाडौबाट मात्र नभइ उपत्यकाको विभिन्न ठाउँबाट पनि बाजा सहित स्वयम्भू दर्शन गर्न आउने प्रचलन रहेको पाइन्छ ।
पाटनबाट स्वयम्भूमा नौबाजा सहित दर्शन गर्न अझैपनी आउने गर्दछन् भने गुंला बेला धाँ बाजा सहित मुहाली, न्यकु ( सिङ्गबाट बजाइने एक किसिमको बाजा) आदि पनि बजाउने गरिन्छ।यसै गरि ज्यापू समुदायले भने धिमे बाजा र दाफा बजाउने गर्दछन्। यसरी स्वयम्भूको दर्शन गरिसकेपछी, सेतो मछिन्द्रनाथको पनि दर्शन गर्नपर्ने मान्यता रहेको पाइन्छ।
गुंला धर्मको अविधिमा मनाइने एक मुख्य पर्व भनेको पञ्जरा हो । पञ्चदानको नामले पनि चिनिने यस पर्वमा बज्राचार्य तथा शाक्य समुदायका व्यक्तिहरुले दान लिने गर्दछन्।यस पर्वमा धान, चामल, गहुँ, केराउ, मकै, नुन, पैसा, फलफूल आदि दान गरिन्छ। उपत्यकाको तीनै सहरमा यो पर्व मनाइएता पनि ठाउँ अनुसार फरक दिनमा मनाइने गरिन्छ ।
काठमाडौमा स्वयम्भूमा छायाँ हेर्ने रात पनि यहि गुंलाकै अविधिमा हुने गर्दछ। पञ्जराको ठिक अगाडिको रात विशेष गरि दक्षिण ललितपुरका मानिसहरु आफ्नो घरमा सो वर्ष कसैको मृत्यु भएको छ भने स्वयम्भूमा बत्ति बाल्न आउने प्रचलन छ, र रातभरी त्यहिँ बस्ने चलन छ ।
यसै गरि गुंला धर्मकी अविधिमा मनाइने अर्को पर्व भनेको ञ बहि द्यः ब्वयेगुझ हो ।
यो पर्व गुंलाथ्व पुन्हीको (जनै पुर्णिमा÷ क्वाती पुन्ही) भोलिपल्टबाट ३ देखि ८ दिन सम्म मनाइन्छ। यस अवसरमा विभिन्न बहालमा अरु बेला नदेखिने गरि राखिने दिपंकर बुद्धका ठूला मुर्तिहरु, विभिन्न देवी देवताका मुर्तिहरु, पौभा तथा थाङ्का चित्रहरु र हस्तलिखित ग्रन्थहरु सर्वसाधारणलाई अवलोकन र दर्शन गर्नका लागि राखिन्छ। यसरी राखिएको मुर्तिहरु दर्शन गर्न विभिन्न समुदायबाट बाजागाजा सहित जाने गरिन्छ भने यसको दर्शन गर्न प्रत्यक्ष देवी श्री कुमारी माजुलाई पनि लाने गरिन्छ। यस बेलामा विशेषतः काठमाडौको भग्वानबहालमा सुनको अक्षरले लेखिएको सतसहस्रिका प्रज्ञापारमिता र इतुमबहालमा सुनको अक्षरले लेखिएको अष्टसहस्रिका प्रज्ञापारमिता पनि दर्शनको लागि राखिन्छ। जनश्रुती अनुसार यी पुस्तकको दर्शन गरेमा स्वर्ग जाने बाटो खुल्ने विश्वास गरिन्छ ।
गुंला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवाः पर्व मानिन्छ । नेपालभाषामा गु को अर्थ नौ, हुने भएकोले प्रायः मानिसहरु गुंला नवौं महिना हो भनेर झुक्किने गर्दछन ्। यस पर्वलाई गुंला किन भनियो भन्ने बारेमा धेरै मतभेद तथा अख्यानहरु रहेको पाइन्छ । विभिन्न इतिहासकारका अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो ।
यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुंला भनिएको बताउँछन्। यसै कुरामा संस्कृतविदहरुका अनुसार श्री स्वयम्भू महाचैत्यको सेवा गर्ने प्रचलन आदिकाल देखि नै चल्दै आएकोले यस्तो तर्क नमिल्ने बताउँछन् ।
अर्थ जे जस्तो भएता पनि गुंला धर्म नेवाः समुदायमा मनाइने विभिन्न पर्वहरु मध्ये एक अति नै महत्वपूर्ण रहेको छ । यसलाई बौद्ध नेवाःहरुले मात्र नभइ सबैले मनाउने गर्दछन् र यो धार्मिक सहिष्णुताको एक अनुपम नमुना पनि हो ।
Categorized in सम्पदा/संस्कृति