महाभारतकालीन शकुनीको देश गान्धारको राजधानी तक्षशिला थियो । गौतम बुद्धको समयमा गान्धारका राजा पुक्कुसातीले मगधका राजा बिम्बिसारकहाँ दूत पठाएका थिए । ईसा पूर्व चौथो शताब्दीमा चाणक्य तक्षशिला विश्वविद्यालयका आचार्य थिए । सिकन्दर महान्को यहींका राजा पुरुसँग युद्ध भएको थियो । यहाँ सिकन्दरका प्रशासकहरूले नै शासन गरे र पछि चन्द्रगुप्त मौर्यद्वारा ती धपाइए । मौर्य सम्राट अशोकको यहाँ शासनाधिकार रह्यो । जब मौर्य वंश ओह्रालो लाग्यो त यहाँ यूनानीहरूको शासन रह्यो ।
ईसाको प्रथम वा द्वितीय शताब्दीका मानिने सम्राट कनिष्कको पालामा यो क्षेत्र उनकै अधीनमा थियो । तर त्यस पछि तक्षशिलाको इतिहास भेटिँदैन । शक र हूणहरूको आक्रमणमा तक्षशिला ध्वस्त भएको मानिन्छ । सन् ४०९ मा चिनिया बौद्ध तीर्थयात्री फाहियान त्यहाँ पुुगे । हुएन साङ्ग पनि यहाँ पुगे । उनले त्यहाँ स्तुप रहेको उल्लेख गरेका छन् ।
तक्षशिला पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा पर्दछ । राजधानी इस्लामाबादबाट २३ किलोमिटर र रावलपिण्डीबाट २७ किलोमिटरको दूरीमा पश्चिमउत्तरमा रहेको छ । यहाँ मध्यपाषाण युगका गुफाहरू पनि भेटिएका छन् । तक्षशिला चीनबाट युरोपका दक्षिणी भागहरूसम्म पुग्ने रेशम मार्गमा पर्दछ । यति मात्र होइन, बंगलादेशको चटगाउँदेखि अफगानिस्तानको काबुलसम्म रहेको ग्रायन्ड ट्रङ्क रोडमा पनि तक्षशिला पर्दछ । बुद्धको समयभन्दा अघि रहेको यो बाटो प्राचीनकालमा उत्तरापथ नामले जानिन्थ्यो । तक्षशिला संग्राहलयबाट स्तुपको दूरी ३ किलोमिटर रहेको छ ।
आचार्य चाणक्यको जीवन गाथा पढ्दा हेर्दा उनको बौद्धहरूसँग वैचारिक युद्ध चलेको स्पष्ट देखिन्छ । त्यस पछि सम्राट अशोकले त यहाँ बुद्धको अस्थिधातु राखी धर्मराजिक स्तुप बनाए, जो तक्षशिलाको उत्खननमा भग्न रूपमा भेटियो । सिन्धुघाटीको सभ्यता रहेका मोहनजाडेरो र हरप्पामा उत्खननको नेतृत्व गरेका सर जोन मार्शलको निर्देशनमा सन् १९१२–१६ मा यहाँ उत्खनन भएको थियो । स्थानीय रूपमा उत्खनन परियोजनाको नेतृत्व गुलाम कादिरले गरेका थिए । जब यो स्तुप भेटियो, यो ध्वस्त अवस्थामा थियो । यहाँ खाल्डो खनिएको पनि भेटियो, जुन यहाँको गर्भगृहमा रहेको अमूल्य वस्तुहरू लुट्नकै लागि भनेर सहजै अनुमान हुन्छ । दक्षिणपट्टि केही अस्थिपञ्जरहरू पनि भेटिए, जो भिक्षुहरूको थिए भनेर अनुमान गर्न सकिन्छ । ईसा पूर्व प्रथम शताब्दीका यूनानी शासक जोइलस द्वितीयका सिक्काहरू पनि यहाँ भेटिए । भग्न धर्मराजिका स्तुपमाथि नै स्तुप पुनर्निर्माण गरिएको हो ।
धर्मराजिक स्तुप भनिने सम्राट अशोकबाट निर्माण भएको स्तुपहरू भारतको सारनाथ र बंगलादेशको ढाकामा पनि रहेका छन् । यसो त सम्राट अशोकले ८० हजार भन्दा पनि बढी स्तुपहरू निर्माण गराएका थिए । तक्षशिलाको धर्मराजिक स्तुप खाली स्तुप मात्र नभई यो वरिपरि अन्य स्मारकहरू पनि रहेको परिसर हो । यो स्तुप स्थानीय रूपमा चिर तोपेको नामबाट चल्तीमा रहेको छ । सन् १९३४–३६ मा पनि यहाँ उत्खनन कार्य भयो । त्यो बेला स्थानीय रूपमा नेतृत्व गर्ने एडि सिद्दीकी थिए । मूल धर्मराजिक स्तुप १५ मिटर अग्लो र ५० मिटर व्यासको रहेको छ । परिसरमा अर्को एक मझौला स्तुप पनि रहेको छ, भने अन्य साना स्तुपहरू पनि रहेका छन् । यी साना स्तुपहरू मूल स्तुपको निर्माणको २०० वर्षपछि निर्माण हुन थालेको बुझिन्छ । मूल स्तुप पनि सन् ४० को भूकम्पबाट ध्वस्त भई पुनः कुषाण कालमा निर्माण भएको हो । स्तुप परिसरमा भिक्षुहरू रहने विहार र भित्र चोकहरू पनि रहेको त्यहाँको भग्नावशेष हेरेर थाहा हुन्छ । मूल स्तुपको वरिपरि प्रदक्षिणा मार्ग पनि रहेको छ । मार्गमा विशेष प्रकारले बनाइएको थियो । साथै स्तुप बाहिर चार दिशामा चार वटा ढोकाहरू पनि रहेका थिए ।
धर्मराजिक स्तुप प्राचीन शहर सिर्कप नगरबाट १ किलोमिटरको दूरीमा रहेको छ । यसबाट त्यसबेलाका भिक्षुगण शहरभित्र पनि नबस्ने र शहरबाट धेरै टाढा पनि नरहने गरेको बुझिएको छ । स्वयम् बुद्धले नै यस्तो आज्ञा भएको पनि विश्वास गरिन्छ । बौद्ध ग्रन्थहरूमा धर्मराजिक स्तुपमा र विहारमा भिक्षुहरूले पूजा गर्दा गोकुलधुप बाल्ने गर्दथे ।
स्तुपमा पहिले धेरै बौद्ध ग्रन्थहरू, खोपाका बुद्ध वा बोधिसत्वका मूर्तिहरू, जातक कथाका चित्रपटहरू थिए । निश्चितै रूपमा यस स्तुपमाथि हर्मिका र हर्मिका माथि ७ तहको छत्राकार पनि थियो । उत्खननका क्रममा खरोष्टी लिपिमा लेखिएको शिलालेख पनि पाइएको छ जो सन् ७८ तिरको हो । यसै गरी बुद्धका कतिपय भग्न मूर्तिहरू पनि भेटिए ।
आर्कियोलोजिक सर्भे अफ इन्डियामा सर अलेक्जान्डर कनिङ्घम महानिर्देशक हुँदा नै यस धर्मराजिका स्तुपमा निरीक्षण गर्दा स्तुपको भित्री भाग भन्दा केही नबचेको भनी उल्लेख गरेको कुरा उनी पछि यस महानिर्देशक बनेको जोन मार्शलले आफ्नो पुस्तक ‘अ गाइड टु तक्षशिला’ मा लेखे । तर त्यहाँ तीस फिट गहिराइ सम्म खनेर माटो हटाउँदा धेरै कुराहरू फेला परे भन्दै जोन मार्शलले लेखे— यस पछि अरु धेरै चाखलाग्दा संरचनाहरू देखा परे, जसमा अरु स्तुपहरू, पूजाघरहरू, भिक्षुहरू रहने विहारहरूमहत्वपूर्ण जानकारी मिल्दछ । यसका साथै त्यहाँ फेला परेका सिक्का र अन्य साना सामग्रीहरूले भारतीय इतिहासको तिथिमिति निर्धारण गर्नका लागि महत्वपूर्ण सामग्री हासिल भएको छ ।
धर्मराजिका स्तुपका सम्बन्धमा बेलायतका एक भ्रमणकर्ताले ट्रिप अडभाजरमा लेखेका छन् – यो स्थल कुनै भव्य त देखिँदैन, तर सूचनापाटीहरू पढ्दा र गाइडहरूको कुरा सुन्दा धेरै महत्वपूर्ण कुरा थाहा हुन्छ । त्यहाँ रहेको बरको रूख मुनि खाना खान सकिन्छ । यस्तै गरी एक जना चिनिया यात्रीले त्यहाँ जान पाकिस्तानी रुपैया ५०० लाग्ने कुरा उल्लेख गर्दै यो निश्चितै रूपमा ठूलो ऐतिहासिक स्थल हो र अहिले वरिपरि हरियो बनाएर प्राकृतिक सुन्दरता पनि थपिएको कुरा उल्लेख गरेका छन् । उनी लेख्छन्–धेरै साना स्तुपहरू मध्ये एउटा स्तुपमा बुद्धको अस्तिधातु बाकसमा राखिएको पनि छ । यो स्थल प्राचीन समयमा महत्वपूर्ण व्यापारिक मार्गमा परेकाले धेरैले यो क्षेत्रमा आधिपत्य जन्माउन खोजे । अन्ततः यस्तो अवस्था पनि आयो कि यो स्थान परित्यक्त भयो । अनि यहाँ रहेका भग्न मूर्तिहरूले यो बताइरहेको जस्तो लाग्छ कि कुनै कुरा पनि चीरस्थायी छैन । ठूला साम्राज्यहरू पनि यहाँ ढले, यी कुनै समय भव्य भएका यी मूर्तिहरू पनि अहिले यस्तो हालतमा छ । यो स्तुप सन् १९८० मा युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा समावेश भएको हो ।
सन् २०१० मा विश्व सम्पदा कोषले तक्षशिलालाई अपूरणीय क्षति हुनसक्ने खतरा रहेको १२ वटा सम्पदा स्थलको सूचीमा सामेल ग¥यो । युद्ध, लुटपाट, अपर्याप्त व्यवस्थापन आदि कारणबाट यी १२ वटा स्थललाई त्यसरी सूचीकृत गरिएको हो । यसो त धर्मराजिक स्तुपलाई पाकिस्तान सरकारले पुरातत्व ऐन १९७५ अन्तर्गत संरक्षण गरेको छ । यसमा कुनै प्रकारले क्षति पु¥याउने, अदलाबदली गर्न खोज्ने, कुनै कुरा मेट्न वा मेटाउन खोज्नेलाई ३ वर्षसम्म कैद, २ लाख रुपैयासम्म जरिवाना वा दुवै हुनसक्ने सजाय उल्लेख गरी सूचना पाटी टाँगिएको छ ।
Categorized in सम्पदा/संस्कृति