काठमाडौँ । काठमाडौं महानगरपालिकाले यो बर्षको इन्द्रजात्रामा एक सय जना विदेशी पाहुनाहरुलाई निमन्त्रणा गर्ने तयारी गरेको छ ।
महानगको भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने निर्णय भएको हो ।
नगर प्रमुखहरुका साथमा थप ४ जना अधिकारीहरुलाई निम्ता गर्दा इन्द्रजात्रा अवलोकन गर्न आउने विदेशी पाहुनाहरु १ सय जना हुने अनुमान गरिएको छ ।
सो तयारीको लागि लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन गरिनेछ र सो समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहने छन ।
समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन ।
यस बर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यस अघि २०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयररउपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए ।
महानगरले देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।
Categorized in सम्पदा/संस्कृति