काठमाडौं । निर्वाचन आयोगले आजबाट आचारसंहिता लागु भएको घोषणा गरेको छ ।
शुक्रवार अयोगको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजबाट स्थानीय निर्वाचन आचार संहिता लागु भएको घोषणा गरे ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन स्थानीय तह निर्वाचन, २०७९ देखि कार्यान्वयन गर्ने गरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचार संहिता, २०७९ आज मिति २०७८।१२।२५ देखि लागू हुनेगरी आयोगबाट निर्णय गरिएको छ ।’ प्रवक्ता पौडलेले भने ।
प्रवक्ता पौडेलले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति बाचन गरेर आचारसंहितबारे विस्तृत जानकारी दिएका छन । उनले निर्वाचन प्रक्रियालाई प्रतिकुल असर पर्ने गरी सामाजिक सञ्जालमा प्रकाशन वा प्रशासरण भएको सामग्री गर्न निषेध गरिएको बताए ।
‘साथै सञ्जालमा भ्रामक सुचना प्रवाह गर्न, गराउन वा झुटो साईट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनका अतिरिक्त कसैको चरित्र हत्या हुने गरी व्यक्तिगत लाञ्छना वा मान हानी हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न प्रकाशन वा प्रशारण गर्न निषेध गरिएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
सो अवसरमा पत्रकारहरुको जिज्ञासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजबाट लागु भएको आचारसंहिता विपरित कसैले गरेको पाइए उनीहरुलाई निर्वाचनको कसुर बमोजिम कारवाही हुने बताएका छन ।
उनले भने,‘ निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।
अदालतमा विचाराधिन रहको बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दिँदा राजीनामा दिनु पर्ने आयोगको प्रावधानबारे प्रमुख आयुक्त थपलियाले प्रष्त पारेको छ ।
उनले निर्वाचन आयोगले फेरि उम्मेदवार बन्ने अहिलेका पालिकाका जनप्रतिनिधिको राजीनामा नखोज्ने भएको बताएको छन । आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ ।
त्यसो भनिएको हुँदा निर्वाचन आयोगले अब कुनै पनि बहालवाला जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न खोजे पनि राजीनामा नमाग्ने प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।
त्यसैगरी उनले ठेक्कापट्टामा लागेका व्यक्तिहरू चुनाव लड्न नपाउने भन्ने विषयमा प्रष्ट पार्दै भने,‘कुनै निर्माण व्यवसायीको कुरा होइन । कुनै पनि व्यक्ति जो स्थानीय तहको कोषबाट सञ्चालित कुनै पनि कार्यमा संलग्न छ ठेक्कापट्टा लिएर होस, भाडा लिएर होस्, उपभोक्ता समितिमार्फत् सम्झौता गरेर होस उसले त्यसलाई क्लिरेन्स नगरेसम्म ऊ उम्मेदवार भयो भने उसको उम्मेदवारी धरापमा पर्छ भनिएको हो ।’
ठेक्कापट्टामा लागेका व्यक्तिहरूलाई पनि चुनाव लड्न नपाउने भन्ने निर्देशिका जारी भएपछि निर्माण व्यवसायी संघले विरोध जनाएको थियो ।
Categorized in स्थानिय