काठमाडौं । काठमाडौंको भोटहिटीमा अन्नपूर्ण द्यःछेँ (देवघर)को शिलान्यास गरिएको छ ।
शुक्रवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पुजा विधिद्धारा अन्नपूर्ण द्यःछेँको शिलान्यास गरेका हुन ।

सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितीमा द्यःछेँको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण कार्य सुरु भएको काठमाडौ महानगरपालिका वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले जानकारी दिए ।

सो अवसरमा स्थानीय जनप्रतिनिधि, द्यःछेँका प्रतिनिधि, स्थानीय तथा पुजारीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख शाक्यले काठमाडौं महानगरका सम्पदा, संस्कृतिको पुननिर्माण, निर्माण कार्यलाई महानगरले प्राथमिकतमा राखेर काम गरेको बताए ।
काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेकोअन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ ।
असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन ।
देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।
यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ ।
महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति