काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका परम्परागत भवनहरु निर्माण तथा संरक्षणका लागि प्राविधिक सहजकर्ता खटाईने भएको छ ।
महानगरले तयार पारेको ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्ताहरुको अनुभव प्रयोग गरिने भएको हो ।
महानगरले सार्वजनिक सुचना मार्फत आव्हान गरेको सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४० जनालाई सूचीकृत गरेर सहयोग लिनको लागि आईतवार एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको छ ।
महानगर क्षेत्रभित्र भएका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्व भएका निजी तथा संस्थागत स्वामित्व भएका परम्परागत भवनहरुको संरक्षणका लागि महानगरले कार्यविधि बनाएको छ ।
घरधनीहरुलाई यसका विषयमा प्राविधिक ज्ञान नहुन सक्ने भएकोले भवन डिजाइन तथा निर्माणमा कम्तीमा १० बर्ष अनुभव भएका आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुलाई सहजकर्ताका रुपमा खटाइने भएको हो ।
सो अभिमुखीकरण तालिम उद्घाटनका प्रमुख अथिति महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरका परम्परातग भवन संरक्षण, सम्पदा पुननिर्माण र मौलिकता कायमका लागि महानगरले गरेको प्रयासका बारेमा चर्चा गरेका छन ।
प्रमुख शाक्यले भने ‘काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा बस्ती कसरी बसाउने भन्ने विषयमा हामीले लामो छालफल गरेका छौँ । एकीकृत बस्तीको कुरा उठाएका छौँ । बसन्तपुरबाट दक्षिण भेगका ६३० वटा घरको अध्ययन गरेर प्रारम्भिक रुपमा ५४ घर एकीकरण गर्ने, सहरी सेवा सुविधा पु¥याउने योजना बनायौँ । टेका लगाएका घर हटाएर सबै घरमा उज्यालो पुग्ने, मोटर पुग्ने, एकीकृत सहरी सेवा पु¥याउने योजना बनायौँ । २०७२ सालको भूकम्पपछि यसको अझ चर्चा भयो । तर कार्यान्वयन जाने बेला सम्पत्तिको हक सुरक्षाको सवाल आयो । त्यसलाई जवाफ दिने कानून भएन । काम अगाडि बढाउन सकिएन ।‘
‘राज्यले गर भनेर मात्र हुँदैन । गर्नका लागि सहयोग गर्नुपर्छ भनेर हामीले मौलिक भवन बनाउन मापदण्डका आधारमा अनुदान दिने कार्यविधि बनाएका छौँ ।’ मेयर शाक्यले भने ।
प्रमुख शाक्यले भने ‘काठमाडौँको मौलिकता बचाउन हामी निजी भवनहरुलाई पनि अनुदान दिन्छौँ । महानगरबाट सहयोग लिएर काठमाडौँको मौलिकता यथावत राख्ने काममा सहयोग गर्न म सम्बन्धित सबैमा अनुरोध गर्छु ।’
सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले काठमाडौंलाई पनि भक्तपुर जस्तै शान्तप्रीय सम्पदा क्षेत्र बनाउने इच्छा रहेको सुनाईन ।
आफूलाई कहिलेकाही दिक्क लाग्दा भक्तपुर दरवार स्कायर गएर त्यहाँ अनुभव लिने गरेको बताउँदै भनिन, ‘अहिलेका जनप्रतिनिधिलाई सांस्कृतिक मौलिक सहर बनाउने जिम्मेवारी प्राप्त भएको छ । यो अवसर हो । सम्पदा क्षेत्रलाई कोलाहलमुक्त, विकृतिमुक्त बनाउन कठिन छ । अन्य नगरजस्तो काठमाडौँको व्यवस्थापन सजिलो छैन ।’
‘हामीले काठमाडौँको मौलिक संरचनालाई जोगाएर सांस्कृतिक पर्यटकीय सहर बनाउने प्रयास थालेका छौँ । यसले स्थानीय अर्थतन्त्रको हरेक चक्रमा सहयोग गर्छ । यसमा भित्री सहरी क्षेत्रमा बसोबास गर्ने घरधनीबाट सहयोग चाहिएको छ ।’ उनले भनिन ।
‘सहरका मध्यभागमा भएका टेको लगाएका पुराना घरहरु, थोरै जग्गामा बनेका जीविकोपार्जन हुन नसक्ने घरहरु पनि छन् । यसबेला सहरको मौलिकता बचाउने, समाजलाई जीवन्त बनाउने र सुन्दरता बचाउने कुरालाई ध्यानमा राखेर योजना बनाउनु पर्छ ।’ अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, ‘मौलिकता बचाएका सहरहरुको सीप, कला र क्षमता सिकेर थप केही गर्न सकिन्छ । यसबेला एउटा मात्र पक्षलाई भन्दा एकीकृत पक्षमा ध्यान पुग्न आवश्यक छ ।’
सम्पदा भवन संरक्षणविज्ञ रविन्द्रले काठमाडौँ महानगरपालिकाको सम्पदा भवन निर्माण तथा संरक्षण सम्बन्धी मापदण्ड उत्कृष्ठ बनेको बताए । आजभन्दा ५० बर्षअघिसम्म काठमाडौँ उपत्यका संसारकै सबैभन्दा ठूलो सम्पदा क्षेत्र भएको ठाउँ थियो । त्यसलाई बचाउन सकेको भए आज हाम्रो पहिचान अलग्गै हुने थियो पुरीको भनाई थियो ।
पुरीले भने ‘विगत १६ बर्षदेखि २५ वटा सम्पदा क्षेत्र विश्व सम्पदा क्षेत्र हुने सूचीमा सूचीकृत भएर बसेका छन् । तिनका लागि केही गर्न सकिएको छैन । अब पुरानो सहरलाई पुनस्र्थापना गर्नुपर्छ भन्ने दृष्टि राख्नुपर्छ ।’
सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले महानगरपालिका मौलिक सहरलाई पुनजीर्वित बनाउने अभियानमा लागेको बताए ।
‘एकीकृत बस्ती किलाः घ मा सुरु गरेका हौँ । त्यहाँ अहिलेको संरचना भनेको एउटाको भ¥याङ्, अर्कोको चोटा, अर्कोको बुइँगल हुन्छ । पुर्खाले सम्पत्ति र मौलिकता नबेचुन भनेर यस्तो व्यवस्था मिलाएका हुन । एकीकृत आवास बनाउने बेला सम्पत्तिको हकको कुरा उठ्यो । त्यसलाई सम्बोधन गर्ने कानून नभएपछि कामले गति लिन सकेन ।’ वडा अध्यक्ष महर्जनले भने ।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले वडा १८ मा एकीकृत आवास बनाउने योजनामा अनुदान कसरी दिने ? कति दिने ? महानगर कसरी सहभागी हुन्छ ? घरधनीको योगदान कति लिने जस्ता विषयमा अन्यौल भएपछि महानगरले परम्परागत भवनलाई मौलिक स्वरुपमा पुननिर्माण गर्दा दिइने अनुदान सम्बन्धी कार्यविधि बनाएका बताए ।
भवन पुननिर्माणको प्राविधिक पक्षमा काम गर्नका लागि हामीले सार्वजनिक सूचनामार्पmत करीव ४० जना आर्किटेक्ट, इञ्जिनियरलाई प्राविधिक सहजकर्ताका रुपमा लिएका छौँ । उहाँहरुलाई लक्ष्यमा प्रष्ट पारेर मौलिक भवन पुननिर्माणलाई व्यापक रुपमा अगाडि बढाउने उपाध्यक्ष बस्नेतले विश्वास व्यक्त गरे ।
अभिमुखीकरणमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले, ‘सम्पदा भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ का विषयमा, सम्पदा तथा भवन संरक्षण विज्ञ, सूर्यभक्त सांगाछेले, ‘सहरी भवन पुननिर्माण र आगामी दिशा’ का विषयमा प्रस्तुति दिएका थिए ।
यसैगरी सहरी योजनाविद नीलिमा थापा श्रेष्ठले काठमाडौँको सांस्कृतिक भू बनावट’ का विषयमा चर्चा गरेकी थिईन ।
त्यस्तै किला घः को घर नक्साका बारेमा युएन ह्याविट्याटका प्रवीण बज्राचार्य र एकीकृत सहरी विकास केन्द्रका द्रोण कोइरालाले संयुक्त प्रस्तुति गरेका थिए ।
Categorized in सम्पदा/संस्कृति