काठमाडौँ । काठमाडौं महानगरपालिकाले दक्षिणकाली नगरपालिकालाई पशु व्यवस्थापनको केन्द्र सञ्चालनको लागि ५० लाख अनुदान दिने भएको छ ।
मंगलवार काठमाडौं महानगर र दक्षिण नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र संचालनको लागि एक सम्झौता गरेका छन ।
दक्षिणकाली नगरको सभा कक्षमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताबमोजिम यस अघिको लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । यसको सञ्चालन व्यवस्थापनका लागि महानगर समिति वा एकाई गठन गर्न सक्नेछ ।
यस संरचनाले दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइ, पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापन लगायत काम गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । त्यस्तै केन्द्र भएको जमिनमा डाले तथा भुइँ घाँस लगाउन सक्नेछ ।
पशु व्यवस्थापन संचालन केन्द्र दक्षिणकाली नगरको वडा ७ कोपुगाउँमा छ । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरिएको छ ।
सम्झौतापछि प्रमुख शाक्यले भने, ‘धेरै काममध्ये यो एउटा कामको थालनी हो । दक्षिणकालीजस्तै हामी हरेक नगरसँग कुनै न कुनै खालको सहकार्य गर्न चाहन्छौँ ।’
‘काम गर्दै जाँदा भोलि केही समस्या थपिन सक्छन । ती समस्याको मिलेर समाधान गर्नुपर्छ र यस्ता कार्यक्रमहरु दिगो हुनुपर्छ ।’ शाक्यले भने ।
‘हामी सानो नगर हौँ । आर्थिक स्रोत हामीसँग कम छ । तर, काठमाडौँ महानगरलाई सघाउने प्राकृतिकलगायत धेरै चीज छन । पार्क निर्माणलगायत पूर्वाधार विकासका कार्यक्रममा महानगरले हामीलाई सघाएको छ । हामी पनि महानगरबासीको जीवन सहजताका लागि सघाउन चाहन्छौँ ।’ दक्षिण नगरपालिका प्रमुख बस्नेतले भने ।
आफ्नो भौगोलिक क्षेत्रभित्रको सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपाया छाडा हुन । यिनीहरुको संरक्षण र व्यवस्थापन पालिकाहरुले गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ ।
Categorized in स्थानिय