काठमाडौं । आज (माघ १५) सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले प्रजातन्त्रको लागि अमरत्व प्राप्त गरेको दिन हो ।
आजकै दिन उनीहरुलाई तत्कालिन जहानियाँ राणा शासकहरुले गोली हानेर हत्या गरेका थिए । १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।
सोही बलिदानलाई संम्झना गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक तथा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शोभा भगवतीमा उनीहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेर सम्मान प्रकट गरेका छन ।
सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलसहित पदाधिकारीले पनि पुष्पगुच्छा अर्पण गरेर सम्मान प्रकट गरेका थिए ।
नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ सहिद गंगालाल र दशरथले मृत्यु स्वीकार गरेका थिए ।
यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
तत्कालिनकाठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो । त्यस्तै चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका शकालिक स्थापना गराउनुभएको हो । महानगरले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक निर्माण गरेको हो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए भने रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए ।
सहिद दिवसको अन्तिम दिन भोली (आईतवार) बिहान ०९ बजे सहिद स्मारक लैनचौर स्मृति कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्रीसहित, सीमित उच्च विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा ज्ञात अज्ञात सहितको स्मरणमा मौन धारण हुनेछ । मध्यान्न १२ बजे टुँडिखेलमा सेनाले सहिदको सम्मानमा तोप सलामी अर्पण गर्नेछ ।
तस्वीरः चन्द्रमणी भट्टराई
Categorized in सम्पदा/संस्कृति