काठमाडौँ । पूर्व कुमारी, पूर्व गणेश र पूर्व भैरवलाई श्रपद भत्ता प्रदान गरिएको छ ।
मंगलवार हनुमानढोका दरबार संरक्षण कार्यक्रमले एक कार्यक्रमको आयोजना गरी पूर्व कुमारी, गणेश र भैरवहरुलाई भत्ता वितरण गरिएको हो ।
९ जना पूर्वकुमारी, ७ जना पूर्व गणेश र ८ जना पूर्वभैरवलाई सो भत्ता वितरण गरिएको दरवार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उनीहरुलाई भत्ता प्रदान गरेका थिए । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठको उपस्थिती रहेको थियो ।
पूर्वकुमारीलाई मासिक १५ हजार र पूर्वगणेश एवं भैरवलाई १२/१२ हजार भत्ता प्रदान गरिएको थियो । विसं २०६९ देखि भत्ता प्रदान दिन थालिएको कार्यक्रम प्रमुख शाक्यले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷२०७८ देखि सहयोग बढाएर १५ हजार र १२/१२ हजार पुराएको कार्यक्रम प्रमुख शाक्यले जानकारी दिए । इन्द्रजात्रालगायत हनुमानढोका दरबार क्षेत्रमा हुने विभिन्न सांस्कृतिक गतिविधिमा कुमारी, गणेश र भैरवको भूमिका तोकिएको हुन्छ ।
बहालमा रहेकी कुमारीलाई भने मासिक ५० हजार भत्ता दिइन्छ । यसैगरी बहालमा रहेका गणेश र भैरवलाई ३०/३० हजार भत्ता दिने गरिएको छ ।
महानगरपालिकासँग ऋण लिएर भए पनि पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता दिने कामलाई निरन्तरता दिइएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले बताए ।
हनुमानढोका दरबार क्षेत्रको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि महानगरपालिकाले २०५८ साल भदौ १ गतेदेखि कार्यक्रमको सुरुवात गरेको हो ।
कार्यक्रमअन्तर्गत महानगरपालिकाका १९, २०, २३ र २४ गरी चार वटा वडामा फैलिएका सम्पदा संरक्षणको काम हुने गरेको छ ।
तस्वीरः अरविनमानसिंहको फेसबुकबाट
Categorized in सम्पदा/संस्कृति