काठमाडौँ । काठमाडौं महानगरका प्रवक्ता तथा कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले महानगरले प्रत्येक वडामा सार्वजनिक शौचालय बनाउने नीति लिएको बताएको छ ।
विश्व शौचालय दिवशको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता डंगोलले भने, ‘सार्वजनिक शौचालय निर्माण गर्ने विषयमा काठमाडौँ महानगर स्पष्ट छ । हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने स्वीकृत नीति छ । नीति कार्यान्वयन गर्ने बजेट छ । तर, कार्यान्वयनमा केही समस्या छ ।’
सार्वजनिक शौचालय भन्नेवित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको बुझाइ अस्वभाविक होइन । यसै कारण कुनै ठाउँमा शौचालयको योजना आउनासाथ स्थानीयबाट विरोध हुने गरेको प्रवक्ता डंगोलको भनाई छ ।
प्रवक्ता डंगोलले अहिले हामी पुरानो अवस्थाबाट व्यवस्थापकीय क्षमतामा माथि उक्लिसकेकोले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुनेछन । गन्ध नआउने पूण सफा हुनेछन । यसका लागि हामीले स्वयम्भू र बानेश्वरमा परीक्षण अभ्यास गरिसकेको जानकारी दिए ।
सरसफाईका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघसंस्थाले विश्व शौचालय दिवस २०२१ को सन्दर्भ सो कुरा डंगोलले बताएका हुन ।
गोष्ठीमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले सरकारले खानेपानी र सरसफाइकालागि विनियोजन गर्ने बजेट बढ्न नसकेकोले पर्याप्त काम हुन नसकेको उल्लेख गरे ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) का अध्यक्ष अनिलभद्र खनाल, सरसफाइ विज्ञ शरद अधिकारीलगायत वक्ताले, सरसफाइको सूचकका रुपमा शौचालयको पूर्वाधार सुधारमा ठोस र नियमित काम गर्नुपर्ने सुझाव दिए ।
नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुल्ला रुपमै दिशा पिसाब गरिरहेको तथ्याङ्क देखाउँदै वक्ताहरुले पूर्ण सरसफाइबाट दिगो विकास लक्ष्यसम्म पुग्न धेरै काम गर्नुपर्ने खाँचो देखाएका थिए ।
त्यसैगरी गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको अवस्था र प्रयोगमा ल्याउन सकिने प्रविधिका बिषयमा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले सरसफाइमा अन्तरराष्ट्रिय मापदण्ड २४५२१ का विषयमा प्रस्तुतिकरण दिएका थिए ।
Categorized in स्थानिय