काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनीस्थित निर्माण भएको बज्रयान विहारको उद्धघाटन गरिएको छ ।
आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमुबद्धको जन्मथललो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्धघाटन गरेकी हुन ।
सो अवसरमा राष्ट्रपति भण्डारीले भनिन, ‘म एउटै कुरा भन्छु, गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उहाँले भन्नुभयो, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो ।’
‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’ उनले भनिन ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए ।
उनले भने, ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, त्यहि अनुसार सहयोग गरेका हौँ ।’
काठमाडौँ महानगरपालिकाले आफ्नो महानगरपालिकाको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौँको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको प्रमुख शाक्यले सुनाए ।
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । डा. बज्राचार्यका अनुसार काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।
उनले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको सुनाए । नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार यतिका बर्षपछि विहार बनिरहेको बज्रचार्यले जानकारी दिए ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।
Categorized in सम्पदा/संस्कृति