काठमाडौं । जनता समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन ।
प्रधानमन्त्री शेरबहादुर शुक्रवार मन्त्रिपरिषद विस्तार गरेपछि श्रेष्ठ जसपाबाट मन्त्री बन्न सफल भएका हुन । यसअघि २०५५ सालमा आवास तथा भौतिक योजनामन्त्री बनेका उनी दोस्रो पटक मन्त्री बनेका हुन ।
वामपन्थी पार्टीबाट राजनीतिक यात्रा शुरु गरेका राजेन्द्र श्रेष्ठ चार दशकदेखि राजनीतिमा सक्रिय छन ।
२०३४ सालमा नेकपा चौम, २०३९ मा नेकपा माले हुँदै २०४९ मा नेकपा एमालेको केन्द्रीय सदस्य भएका श्रेष्ठले २०६९ सालमा एमाले छाडेका थिए ।
पहिचानको मुद्दा लिएर राजनीतिक यात्रलाई अघि बढाएपछि एमाले नेता अशोक राईसहितका नेतासँग मिलेर संघीय समाजवादी पार्टी गठन गरेका थिए ।
सो पाटी पछि गएर मधेसी जनाधिकार फोरमसँग एकतापछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएपछि जनता समाजवादी पार्टी (जसपा) बने ।
२०५१ सालको मध्यावधि निर्वाचन र २०५६ को आम निर्वाचनमा काठमाडौंबाट जितेका उनी २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट संसदमा आएका थिए ।
Categorized in राष्ट्रिय